बुटवल,११ फागुन ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिले पाँच दिवसीय रूपमा बिविध कार्यक्रम गरी ४३ औं मगर दिवस मनाउने भएको छ ।
संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी मगर दिवस कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति रूपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या मगर समुदायको रहेको भन्दै मगर दिवसको दिन फागुन १५ गते सार्वजनिक बिदा दिन माग गरे ।
बुटवल उपमहानगरपालिकाले मगर दिवसको दिन गत बर्ष सार्वजनिक बिदा दिएको स्मरण गर्दै उनलेे यसबर्ष पनि बुटवल उपमहानगरपालिका भित्र सार्वजनिक बिदा दिन आग्रह गरे ।
मगर दिवसको अवसरमा भाेली फागुन १२ गते अन्तरक्रिया कार्यक्रम,फागुन १३ गते बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल बितरण,फागुन १४ गते बाजेबज्यै थान सरसफाइ र फागुन १५ गते बाजेबज्यै थानमा मूल समारोह आयोजना गरिएको मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बसन्ती साठिघरेमगरले जानकारी दिइन् ।
बुटवलमा दाेस्राे ठूलो जनसंख्या रहेको मगर समुदायलाई एकतृत गर्दै पाँच दिवसीय रूपमा बिबिध रचनात्मक कार्यक्रम गरी मगर दिवस मनाउन लागिएको भन्दै अध्यक्ष साठिघरेमगरले फागुन १५ गते सार्वजनिक बिदा दिन बुटवल उपमहानगरपालिकासँग माग गरिन् ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष लुमबहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बिक्रम सम्वत २०३९ साल फागुन १५ गते तनहुँमा देशभरका मगरहरूकाे सहभागीतामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको दिन फागुन १५ गतेलाई मगर दिवसको रूपमा मनाउन थालेको मगर अगुवाहरूकाे भनाइ छ ।