बुटवल,२० असार ।
बुटवल उपमहानगरपालिकाकाे नगर प्रमुख गृहिणी महिला स्वराेजगार कार्यक्रम अन्तर्गत जुत्ता चप्पल बनाउने तालिम र चुरापाेते एवम् टिका बनाउने तालिमकाे शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।
तालिम समापनको अवसरमा सहभागीहरूलाई प्रमाणपत्र बितरण गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गृहिणी महिलाहरूलाई सीपमूलक तालिम मार्फत आर्थिक रूपमा सक्षम बनाउदै आत्मनिर्भर बनाउने उदेश्यले तालिम दिइएको बताए ।
उपमहानगरपालिकाबाट दिइएको एक हप्ताको जुत्ता चप्पल बनाउने तालिम लिएका कतिपय गृहिणी महिलाहरूले मासिक ३०/४० हजारदेखि दुई लाखसम्म कमाएको उदाहरण प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले तालिमबाट सिकेको सीपको सदुपयोग गरेर आर्थिक रूपमा सक्षम बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।
आर्थिक रूपमा सक्षम भए घरपरिवार तथा समाजमा हेपिनु नपर्ने भन्दै उनलेे आफुले सिकेको सीपको सदुपयोग गरि आत्मनिर्भर बन्ने तर्फ लाग्नुपर्नेमा जाेड दिए ।
तालिमपछि तालिम अनुसारको पेसा ब्यवसाय गरे नगरेको बिषयमा उपमहानगरपालिकाले अभिलेख राख्नुकासाथै राम्रो काम गर्नेलाई पुरस्कृत गरिने पनि नगर प्रमुख पाण्डेयले बताए ।
साथै उनलेे तालिमबाट सिकेको सीप अनुसार उत्पादन गरेका सामानको बजारिकरणमा समेत उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरीप्रसाद श्रेष्ठले एक जनाले धेरै किसिमका सीप सिक्नु भन्दा एउटामात्रै सीप सिकेर त्यसमा मात्रै केन्द्रित भए दक्ष बन्न सकिने भन्दै जुन सीप सिकिन्छ त्यसैमा केन्द्रित हुन आग्रह गरे ।
जुत्ता चप्पल बनाउने तालिममा ३० जना र चुरापाेते बनाउने तालिममा ३० जना गरि ६० जना महिलाको सहभागीता रहेको सावरी ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक विष्णु थापाले जानकारी दिइन् ।
चुरापाेते तालिममा बिजया गिरी र जुत्ता चप्पल बनाउने तालिममा ओसिम थापा गुरूङले सहजिकरण गरेकोे सञ्चालक थापाले बताइन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका समाज कल्याण महाशाखा प्रमुख तुल्सा अर्याल,सामाजिक शाखाका निर्देशक विजयदेव भुर्तेल लगायतले तालिममा सिकेको सीपको सदुपयोग गरेर आत्मनिर्भर बन्ने तर्फ लाग्न सहभागीहरूलाई आग्रह गरे ।