Demo
Demo

गृहमन्त्री रमेश लेखकले स्थानीय तहहरूले बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएको विवरण पठाएको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइने बताउनुभएको छ ।

बाढीपहिरोबाट क्षति भएको जिल्लाको पनौती, बेथानचोक र रोशी क्षेत्रको अवलोकन गर्नु आउनुभएका गृहमन्त्री लेखकले स्थानीय तहबाट घर पूर्ण क्षति भएको सिफारिस गरेको तीन दिनभित्र अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता बापतको २५ हजार रुपियाँ तुरुन्त उपलब्ध गराउने बताउनु भएको हो ।

उहाँले बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएका परिवारको लागि तत्काल खाद्यान्नका लागि पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँचजना भन्दा बढी सदस्य भएको परिवारका लागि नगद २० हजार उपलब्ध गराइने बताउनुभयो ।

उहाँले सरकारले बाढी पहिरो पीडितका लागि दिने राहत रकममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विपद्को समयमा सरकार र प्रतिपक्ष नहुने बताउँदै विपद्को समयमा सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।

सोमबार बिहान काभ्रेपलान्चोक आउनुभएका गृहमन्त्री लेखकले बाढीपहिरोबाट सबैभन्दा क्षति भएको पनौती नरपालिका–१० भूमिडाँडा, बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान र रोशी गाउँपालिकामा बाढीपहिरोबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो ।

जिल्लाको पनौती, बेथानचोक गाउँपालिकामा बाढीपहिरोको क्षतिको अवलोकन गरी गृहमन्त्री लेखकले विपद्को समयमा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत भएको कामहरूको बारेमा जानकारी समेत लिनुभएको थियो ।

विपद् व्यवस्थापन समितिको बैठकमा प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले बाढीपहिरोका कारण जिल्लाको विभिन्न स्थानमा अझैपनि खानेपानी, सडक, सञ्चारको सेवा सञ्चालन हुन नसकेको, बाढीपहिरोका कारण सयौँ घरपरिवार घरबारविहीन भएको बताउनुभएको थियो ।

बैठकमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बागमती नदिका कारण दुई वटा बस्ती बगाएको, सडक, सञ्चार र विद्युत सेवा पूर्ण रूपमा बन्द भएको बताउनुभयो । उहाँले बाढीपहिरोका कारण विकट खानीखोलामा थुप्रै क्षति हुँदा समेत सङ्कटग्रस्त पालिका घोषणा नगरेकामा आपत्ति जनाउँदै खानीखोलालाई सङ्कटग्रस्त पालिका घोषणा गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारी, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमती नेपालले बाढीपहिरोका कारण नागरिकले सडक, खानेपानी, विद्युतलगायतको सेवाबाट वञ्चित हुनु परेको बताउनुभएको थियो ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.