बुटवल,२६ माघ ।
कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को सदस्य लागि भएको मतदान सकिएको छ ।
शनिबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको हो ।
चार मतदान केन्द्र रहेको लुम्बिनी प्रदेशको बुटवल मतदान केन्द्रमा ९१.४३८ प्रतिशत मत खसेको बुटवल मतदान केन्द्रका निर्वाचन मण्डल संयोजक गाेविन्द मरासिनीले जानकारी दिए ।
बुटवल मतदान केन्द्रमा २९२ मतदाता रहेकोमा २६७ मत खसेको उनलेे बताए ।
मतदाता नामावलीमा नाम रहेका एक बरिस्ठ अधिवक्ताकाे भने हालै मृत्यु भएको र २४ जना कानुन ब्यवसायी मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यका लागि प्रजातन्त्र वादी र बामपंथी गरी दुई जना प्रतस्पर्धामा उत्रिएका छन् ।
प्रजातन्त्रवादी समुहबाट नेपालगन्जका इश्वरी प्रसाद ज्ञवाली र बामपंथी समुहबाट बुटवलका मदन पुन प्रतिस्पर्धामा उत्रिएका हुन् ।
लुम्बिनी प्रदेशमा बुटवलसहित चार मतदान केन्द्र रहेकोमा सबैभन्दा धेरै नेपालगन्ज केन्द्रमा सबैभन्दा धेरै ३२० मतदाता,बुटवलमा २९२,दाङको तुल्सीपुर मतदान केन्द्रमा १४५ र पाल्पा मतदान केन्द्रमा ४२ गरी कूल ७९५ मतदाता रहेको बुटवल मतदान केन्द्रका निर्वाचन मण्डल सदस्य लय भट्टराईले जानकारी दिए ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरुको निर्वाचन मण्डलबाट सात प्रदेशबाट एक–एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार लुम्बिनीसहित सातै प्रदेशमा मतदान भएको हो ।
बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मतदान सुरू भएको र ४ बजेसम्म सञ्चालन हुने बताइन् । सातै प्रदेशमा बिहान १० बजे सुरु भएर ४ बजेसम्म मतदान हुनेछ ।
परिषद्को पार्षद् छान्न देशभर ११ हजार मतदाता छन् । बागमती प्रदेशमा मात्रै आठ हजार दुई सय मतदाता छन् । परिषद्बाट हालसम्म ३१औँ परीक्षाबाट पास भएका सम्पूर्ण कानुन व्यवसायीले मतदान गर्न पाउनेछन् ।
महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद चयन हुन्छन् । पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।