बुटवल,१४ फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले देशमा नेतृत्वको खडेरी परेको भन्दै देशलाई सहि नेतृत्व प्रदान गर्न युवाहरू अग्रसर हुनुपर्ने बताएका छन् ।
जनमुक्ति पार्टी बागलुङ-पर्वत-स्याङ्जा-गुल्मी-पाल्पा-तराई सम्पर्क समन्वय समितिद्वारा प्रकाशित जनमुक्ति जागरण स्मारिका बिमाेचन कार्यक्रममा महासचिव अस्लामीले देशलाई सहि मार्गमा अगाडि बढाउन सक्ने दक्ष र कुशल नेतृत्वको खडेरी परेको बताएका हुन् ।
हालसम्म मुलुककाे नेतृत्व गरेकाहरू मुलुकको विकास र समृद्धिकाे बाटोमा अगाडि बढाउने भन्दा पनि पार्टीगत र ब्यक्तिगत हितमा मात्रै केन्द्रित भएको आराेप लगाउदै महासचिव अस्लामीले देशमा देखिएको नेतृत्वको अभावलाई परिपुर्ति गर्ने कार्यमा जनमुक्ति पार्टीका नेता कार्यकर्ता जुट्नुपर्ने बेला आएको उल्लेख गरे ।
स्थापनाकाे ३० बर्षे अबधिमा पार्टीले धेरै आराेह अबराेह पारगर्दै लामो अनुभव संगालेकाे भन्दै उनलेे त्यसबाट पाठ सिकेर पार्टीलाई थप शशक्त बनाएर लैजान जरुरी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरूङले पार्टीले उठाएका एजेन्डा कालान्तरमा देशकै एजेन्डाकाे रूपमा स्थापित हुदै आएको बताउदै एमसिसि देशका लागि ठिक छैन भन्ने पार्टीको दृष्टिकाेण अहिले आएर सहि सावित भएको दाबी गरे ।
पत्रकार सेनानी गाेबिन्द प्रसाद भट्टराईले जनमुक्ति पार्टीकाे आकार सानो देखिए पनि उसले उठाएका मुद्दा ठूलो रहेको भन्दै संघीयता र समावेशीकरणकाे मुद्दा उठाउने पहिलो पार्टी सम्भवत जनमुक्ति पार्टीनै भएको उल्लेख गरे ।
राष्ट्रिय जनमुक्ति पार्टी बागलुङ-पर्वत-स्याङ्जा-गुल्मी-पाल्पा-तराई सम्पर्क समन्वय समितिका संयोजक हरिदेव थापाकाे सभापतित्व र महासचिव टाेप अस्लामीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महिला नेतृ धनी आले,पार्टीका रूपन्देही उपाध्यक्ष थर्कबहादुर बारघरे,मञ्चका सदस्य भाेमबहादुर बुढा,आनबहादुर साेतीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।