नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रूपन्देहीले दशौं जिल्ला अधिवेशनयही चैत ९ र १० गते बुटवलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एकीकृत समाजवादी रुपन्देहीले विहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । अधिवेशनका लागि रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रहरुबाट १२८ जना प्रतिनिधि छनौट भएको नेकपा एकिकृत समाजवादी रुपन्देहीका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले जानकारी दिए ।
विधान बमोजिम १० प्रतिशत जिल्ला कमिटिले मनोनित गर्न पाउने व्यवस्था अनुसार १३ जना मनोनित प्रतिनिधिसहित अधिवेशनमा कुल १४१ प्रतिनिधि रहने उनले बताए । उनका अनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट ४० जना, २ वाट ४३ जना, ३ वाट २१ जना, ४ वाट ११ जना, ५ वाट ७ जना प्रतिनिधि छनौट गरिएको बन्जाडेले बताए । साथै नयाँ बन्ने कमिटिमा २० प्रतिशित ४० वर्ष भन्दा कम उमेरका यु्वाहरुको प्रतिनिधित्व रहने समेत उनले बताए ।
प्रतिनिधि नभएकाहरु अधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था समेत गरेको बन्जाडेले बताए । यसअघि जिल्लाका पदाधिकारी तथा सदस्यहरु स्वत प्रतिनिधि हुने प्रावधान रहँदै आएकोमा रुपन्देहीमा यसपटकबाट प्रतिनिधि नभएका पार्टीका नेता कार्यकर्ता अधिवेशनमा सहभागी हुन नपाइने व्यवस्था गरिएको उनको भनाइ छ ।
अधिवेशनकाे पार्टीका अध्यक्ष माधवकुमार नेपालबाट उद्घाटन गर्ने कार्यक्रम तय भए पनि नेपाल हाल विदेश भ्रमणमा रहेकाले सम्मानित नेता झलनाथ खनाल वा महासचिव घनश्याम भुसाल मध्ये एक जनाले उद्ध्घाटन गर्ने नेकपा एकीकृत समाजवादी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए ।